काठमाडाैं,१५ माघ ।राजधानीको गोकर्णेश्वर नगरपालिका–८ डाँडागाउँस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महांकाल मन्दिर परिसरमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा भने क्रमशः बौद्ध धर्मावलम्बीहरुको पनि भिड बढ्दै गएको छ ।
आयोजकहरुले सप्ताह मण्डप र आसपासको क्षेत्रमा बौद्ध धर्ममा आधारित ध्वजाहरुलाई पनि विशेष स्थान दिएका छन् । त्यसो त हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको धेरै संस्कार मिल्दाजुल्दा पनि छन् ।
बौद्ध धर्मावलम्बीहरुले महायज्ञमा कथा तथा किवंदन्ती मात्र सुनिरहेका छैनन्, उनीहरुले सक्दो आर्थिक सहयोग समेत गरिरहेका छन् । यसले प्राचीन समयदेखि नेपाली समाजमा विद्यमान धार्मिक सहिष्णुताको संस्कारलाई अझ बलियो बनाएको श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन मूल आयोजक समिति मातहतको अतिथि सत्कार उपसमितिका संयोजक राजेश दाहाल बताउनुहुन्छ ।
दाहालका अनुसार सोमबार साँझ सम्ममा सबै दाताहरुबाट गरी १० लाख ५२ हजार ९७ रुपैंया संकलन भएको छ । भजन कीर्तन तथा प्राचिन भेषभूषामा बेलाबखत प्रस्तुत गरिने झाँकीहरुले महायज्ञलाई अझ आर्कषित बनाएको स्थानीय बुद्धिजीवी उद्धव रायमाझीको धारणा छ ।
वृद्ध वृद्धा तथा अन्य इच्छुक सबैका लागि महायज्ञकै क्रममा समय समयमा सामान्य स्वास्थ्य जाँचको व्यवस्था सहित सबै भक्तजनहरुका लागि प्रसाद ग्रहण तथा सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको छ ।
गत शुक्रवार वैदिक मन्त्रोचारणबीच संस्कृतिविद् डाक्टर चिन्तामणि योगीले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्नुभएको थियो । महांकाल मन्दिरको जीर्णोद्धार र मन्दिर परिसरमा रहेको खाली जमीनमा विविध प्रयोजनका लागि सामुदायिक कक्षहरुको निर्माणार्थ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको हो ।
मुख्य मन्दिरको जीर्णोद्धारसँगै मन्दिर परिसरमा मूर्ति स्थापना, नियमित पूजा, पूजारीको व्यवस्था, मन्दिर प्रवेशद्धार निर्माण, भजनकीर्तन तथा प्रवचनकक्ष, यज्ञमण्डप आदिको पवित्र लक्ष्य पनि लिइएको छ ।

