स्वास्थ्य अवस्था बिग्रँदै गएपछि निर्मलाका आमाबुवा धर्ना स्थगित गर्दै

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ६ वर्ष अगाडि

कञ्चनपुर,६ फागुन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबुबाले धर्ना स्थगित गर्ने भएका छन् ।१०३ दिनसम्मको लगातारको धर्नाले स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनीहरूले १० फागुनबाट धर्ना स्थगित गर्न लागेको अधिकारकर्मी शारदा चन्दले बताएकी छन् । उनीहरूले हत्याराको पहिचान र कारबाहीको माग गर्दै गत २५ कात्तिकबाट जिल्ला प्रशासन कार्यालयको गेटअगाडि २४ घण्टे धर्ना सुरु गरेका थिए ।

निर्मलाका बुबा यज्ञराजलाई धर्नाकै क्रममा मानसिक अवस्था असन्तुलित हुन पुगेको थियो । त्यसपश्चात् उनी डिप्रेसनको औषधि प्रयोग गर्दै आएका छन् । कान्छी आमा लक्ष्मीमा समेत टाउको दुख्ने, शरीर सुन्निनेलगायतका समस्या देखिएका छन् ।

विभिन्न चरणमा भएका अनुसन्धानसमेतले निर्मलाको हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।गत १० साउनमा साथीको घर जान भनी निस्किएकी निर्मला उखुबारीमा मृत फेला परेकी थिइन् ।