संविधानद्वारा प्रदत अधिकारमाथि सरकारले हस्तक्षेप गर्न थाल्याे: देउवा

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

रसुवा, १३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुने बताएका छन्।

रसुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानद्वारा प्रदत अधिकारमाथि सरकारले हस्तक्षेप गर्न लागेकाले यसका विरुद्ध सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताए ।

सभापति देउवाले चिकित्सा शिक्षा विधेयकमा सरकारले ठूलो हस्तक्षेप गरेको उल्लेख गर्दै रसुवादेखि शुरु भएको काङ्ग्रेस प्रवेशको अभियानलाई देशव्यापी रुपमा लगिने र अन्य पार्टीबाट काङ्ग्रेस प्रवेश गर्नेलाई उचित स्थान दिने बताए ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकलाई प्रजातान्त्रिक बाटोमा लैजान कांग्रेसको ठूलो योगदान रहेको चर्चा गर्दै अब पार्टीलाई नवीन ढङ्गले अगाडि बढाउनु जरुरी रहेको बताए ।

सरकार अपराधी खोज्नुभन्दा अपराधी जन्माउन लागेको आरोप लगाउँदै प्रवक्ता शर्माले आगामी निर्वाचन जित्ने गरी पार्टी सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिए ।

पार्टीका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकार गर्नुपर्ने काम नगरी नगर्नुपर्ने काम गरिरहेको बताउँदै सरकारले प्रजातान्त्रिक चरित्र गुमाएको आरोप लगाए ।

“प्रधानमन्त्रीको सपनामा पानीजहाज, हवाईजहाज र रेल छ, जनता छैनन्,” उनले भने ।

नेपाली काङ्ग्रेस रसुवाका सांसद मोहन आचार्यले रसुवाको विकास र समृद्धिका लागि आफू लागिपर्ने विश्वास व्यक्त गरे।

नयाँ शक्ति नेपाल रसुवाका संयोजक फुर्वु वाङ्दी तामाङले रसुवामा हुने तस्करी, घुसखोरी र भ्रष्टाचारको अन्त्य गर्दै रसुवाको समग्र विकासका लागि आफूहरुले काङ्ग्रेससँग एकता गरेको बताए ।

नेपाली काङ्ग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, रसुवा प्रदेश ९ख०का सांसद प्रभात तामाङ, काङ्ग्रेस रसुवाका पूर्वसभापति लामा कार्पु तामाङ लगायतले नेपाली काङ्ग्रेस बलियो भए मात्र मुलुक बन्ने बताए ।

कार्यक्रममा नयाँ शक्ति पार्टीका जिल्ला संयोजकको नेतृत्वमा चार हजारभन्दा बढी नेता तथा कार्यकर्ता काङ्ग्रेस पार्टीमा प्रवेश गरेको थियो ।