सिएमसीसँगको ठेक्का सम्झौता रद्द

Bhim Thapa Business/अर्थ ब्यापार , Latest Update , ७ वर्ष अगाडि

काठमाडौँ, २३ फागुन ।तनहुँ हाइड्रोपावर लिमिटेडले इटालीको ठेकेदार कम्पनी सिएमसीसँको ठेक्का सम्झौता रद्द गरेको छ । कम्पनीले आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालीको उक्त कम्पनीलाई जिम्मा दिएको थियो । गत माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो । 

मेलम्ची खानेपानी आयोजनामा काम छोडेको इटालीको कम्पनीले सो आयोजनामा महत्वपूर्ण जिम्मा पाएको थियो । कूल १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनामा काम गर्न नस्क्ने देखिएपछि गत फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना दिइएको थियो । ठेकेदार कम्पनीले तनहुँ आयोजनालाई आधिकारिक जवाफ नआएपछि तनहँु हाइड्रोपावर लिमिटेडले बुधबार ठेक्का सम्झौता रद्द गरेको जानकारी सिएमएसीलाई गराएको सञ्चार विज्ञ सचेन गौतमले जानकारी दिनुभयो । 

खरीद सम्झौता रद्द गर्नुपर्ने कारणमा खरीद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम शुरु गर्न गरेको आग्रहलाई अस्वीकार गरेको देखाएको छ । यस्तै ठेकेदार कम्पनीले अग्रीम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदातालाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायत जानकारी आएको छ । 

तनहुँ हाइड्रोपावर लिमिटेड र सिएमसीबीच गत असोज १५ गते रु २० अर्ब ६४ करोड ५२ लाख खरीद सम्झौता भएको थियो ।