काठमाडाैं,१४ वैशाख ।चौतर्फी विरोध भएपछि काठमाडौंको खुलामञ्चको उत्तरतर्फको क्षेत्रमा पसल राख्ने उद्देश्यले बनाएका संरचनामा डोजर लगाएर भत्काएको छ ।
काठमाडौं महानगरपालिकाले २०७१ मा खुलामञ्चको उत्तरतर्फको केही क्षेत्र साघुँर्याएर बसपार्क राख्न भाडामा दिएको थियो । त्यस क्षेत्रमा केही सटर बनेर भाडामा दिइसकिएको छ भने केही बन्दै गरेका थिए । शनिबार दिउँसो महानगरपालिकाले खुलामञ्चको बसपार्क क्षेत्रमा बनेका अवैध संरचना भत्काउने निर्णय गरेपछि दुईवटा डोजर परिचालन गरेर भत्काइएको हो । डोजर परिचालनसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, महानगर प्रमुख बिद्यासुन्दर शाक्य लगायत खुलामञ्च क्षेत्र पुगेका थिए ।
महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो । खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएका थिए ।

