पानी परेसँगै राजधानीको ट्राफिक व्यवस्थापन जटिल

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडाैं,२७ असार ।अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकामा भएका साँघुरा सडक समयमा कालोपत्र नहुँदा र अविरल वर्षाका कारण सवारीसाधन ओहोरदोहोरमा समस्या उत्पन्न भएको हो ।

काठमाडौँ उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्ति र धेरै सवारीसाधनका कारण उक्त समस्या उत्पन्न भएको छ ।

चाबहिल–साँखु, कलङ्की–नागढुङ्गा, बल्खु–दक्षिणकाली, सामाखुशीचोक–टोखा र भित्री सडकमा पानी जमेका कारण यातायात सञ्चालनमा कठिन बन्न पुगेको हो ।

काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धिसँगै सवारीसाधनको सङ्ख्या पनि अत्यधिकरूपमा बढेर गएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३४ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाखको हाराहारीमा सवारीसाधन रहेको पाइन्छ ।