रवि लामिछानेसहित तीन जनालाई आत्महत्या दुरुत्साहनको अभियोग लगाउन प्रहरीको राय

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

चितवन,८ भदाै ।चितवन जिल्ला प्रहरी कार्यालयले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लगाउन राय पेश गरेको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका तीनजनाको बारेमा अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएकाे प्रतिवेदनमा अनुसन्धानसहित राय दिइएकाे हाे ।

उनीहरुलाई १० दिनसम्म थुनामा राखेर अनुसन्धान गरेपछि प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन भनिएकाे छ ।अब जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा रवि लामिछानेसहित ३ जनाविरुद्ध आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा मुद्दा दायर गर्न सक्नेछ । लामिछानेसहित ३ जनामाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई दिएको म्याद आइतबार नै सकिँदैछ ।

पुडासैनीको मृत्युअघि रेकर्ड गरेको भिडियोमा आफूलाई लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीले मर्न बाध्य पारेको भनेर नाम लिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । उनले गत साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका थिए ।