एयर होस्टेज हुँ भनी ठगी गर्ने पक्राउ

Bhim Thapa Latest Update , News/समाचार , Others/अन्य , ७ वर्ष अगाडि

झापा,९भदाै । आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू जेट एयरलाइन्सको एयर होस्टेजका रुपमा काम गर्दै आएको बताउने राईलाई दुई पुरुषले दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

राईले बुबा अमेरिका बस्ने, आमा डाक्टर, दाजु पाइलट भएको परिचय दिई मोबाइल र मेसेन्जरमा निरन्तर कुराकानी गरेर नजिक हुने र लामो समय कुराकानी गरेपश्चात् विवाह गर्नेसम्मको प्रलोभन दिएर विभिन्न आकस्मिक समस्या देखाई पुरुषसँग रकम मागी झुक्याएर ठगी गर्ने गरेको र रकम नदिएमा आत्महत्या गर्ने भनी धक्कीसमेत दिने गरेको उनीहरूको उजुरीमा उल्लेख रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । राईलाई आइतबार झापा जिल्ला अदालतबाट छ दिनको म्याद थप भई जिप्रका झापाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उजुरीकर्ता पुरुषको नाम भने उल्लेख गर्न नमिल्ने उहाँले बताउनुभयो ।