‘ज्येष्ठ नागरिकलाई हवाई भाडा छुटमा आनाकानी गरे पाप लाग्छ’

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

भरतपुर,१२ भदाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ज्येष्ठ नागरिकलाई हवाई भाडा छुटमा आनाकानी गर्नेलाई पाप लाग्ने बताएका छन् । उनले पाप र धर्मको ख्याल राखेर भए पनि आन्तरिक हवाई उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको घोषणा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

यसैसाता उनले ७० वर्ष उमेर पुगेकालाई हवाई उडानमा ५० प्रतिशत छुटको घोषणा गरेका थिए । मन्त्री भट्टराईले आफ्नो १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै ७० वर्षमाथिका लाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ३ महिनाभित्रै लागू गर्न निर्देशन दिएका थिए । भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले यो निर्णय कार्यान्वयन भई छाड्ने दाबीसमेत गरे ।

उनको घोषणा कार्यान्वयनमा आउनुअगावै निजी एयरलायन्स सञ्चालकहरुले विभिन्न टिप्पणी गरेको प्रसंग जोड्दै उनले भने, ‘उहाँहरु आफैले आएर यस्तो घोषणा गरेका छौं भन्नुहोला भन्ने आशा थियो आउनुभएन । तर सरकारले गरेको निर्णयमा पनि विभिन्न टिप्पणी आएका छन्, त्यसको म स्वागत गर्छु । उहाँहरुले पनि पाप र धर्मको ख्याल त राख्नुहोला नि ।’