आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द

Bhim Thapa Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ६ वर्ष अगाडि

काठमाडाें,१५ भदाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जीर्णाेद्धारको दोस्रो चरणको काम आजबाट शुरु हुँदैछ ।

आजदेखि पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु हुँदैछ । विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुनेछ । उहाँले विमानस्थल बन्द गरी रनवे सेन्टर लाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिङ्क रोड निर्माण लगायतको काम हुने जानकारी दिनुभयो ।

रातिको समयमा विमानस्थल बन्द भएपछि गत बिहीबारबाट जापानको ओसाका उडान शुरु गरेको सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको उडान भने सञ्चालन हुनेछ । विमानस्थल मर्मतको काम शुरु भए पनि साताको तीन दिन ३० मिनेट विमानस्थल खुला हुने विमानस्थल कार्यालयले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ओसाका उडान लक्षित गर्दै उडानको समयमा (राति २ देखि साढे २ बजेसम्म) विमानस्थल खुला गर्न ठेकेदार कम्पनीलाई अनुमति दिइसकेको छ । गत बिहीबारदेखि निगमले रातको साढे २ बजे ओसाका उडान शुरु गरेको छ । सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका उडान हुनेछ ।

पहिलो चरणअन्तर्गत गत चैत १८ देखि असार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम गरिएको थियो । विमानस्थलको धावनमार्ग तीन हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइको छ । रातको १० बजे बिहानको ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरी मर्मतको काम गरिएको थियो । विमानस्थल विकास शुल्कबापत यात्रुबाट लिइँदै आएको एक हजार रुपैयाँ सङ्कलनबाट विमानस्थल मर्मतको काम अघि बढाइएको हो । रु चार अर्ब ७८ करोड लागतमा धावनमार्ग मर्मतसम्भारको जिम्मा चीनको सरकारी कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङले पाएको हो ।