इलाम,२८भदाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल असंलग्न परराष्ट्र नीतिमा स्वतन्त्र भएकाले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन् ।
नेकपा इलामको आयोजनामा शुक्रबार देखि सदरमुकाममा सुरु भएको दुई दिने वृहत कार्यकर्ता प्रशिक्षणमा इलाम आइपुगेका दहालले शनिबार नेपाल परराष्ट्र नीतिमा स्वतन्त्र भएकाले सैन्य गठनमा सहभागी नहुने बताएका हुन् । उनले भने, ‘हाम्रो विदेश नीति प्रष्ट छ । असंलग्न र स्वतन्त्र विदेश नीति नेपालको विदेश नीतिको आधार हो, सिद्धान्त हो, मान्यता हो । त्यसबाट नेपाल कहिं कतै विचलित छैन, हुँदैन । हामी कुनै पनि शक्ति केन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौं । हामी आफ्नो राष्ट्रको स्वतन्त्रतालाई केन्द्रमा राखेर असंलग्न रहन्छौं ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले हाम्रो परराष्ट्र नीति स्वतन्त्र रहने बताए । उनले भने, ‘मलाई लाग्छ, यसमा हामी कोही पनि नेपाली अन्योलमा रहने ठाउँ छैन । हामीे हाम्रो राष्ट्रलाई असर गर्ने काममा संलग्न छैनौं, हुँदैनौं त्यसमा ढुक्क हुन आग्रह गरे । हामीले हाम्रो छिमेकी राष्ट्र चीनविरुद्ध हाम्रो भूमि प्रयोग गर्न नदिने बताउँदै हाम्रो प्रष्ट र घोषित नीति रहेको छ ।’ अध्यक्ष दाहालले भने, ‘इन्डो प्यासिफिक सैन्य रणनीतिसहित आएको अवस्थामा हाम्रो संलग्तना हुँदैन ’
।
केही दिनअघि चिनियाँ विदेशमन्त्री वाङ यीसँग काठमाडौंमा भएको भेटवार्तामा अध्यक्ष दाहालले नेपालले इण्डो प्यासिफिक रणनीति अस्वीकार गरेको बताएपछि अमेरिकी दूतावासले असन्तुष्टी जनाएको थियो । अमेरिकी राजदूतले परराष्ट्र सचिव शंकरदास बैरागीसँग भेटेर यस विषयमा नेपालको धारणा स्पष्ट पार्न आग्रह गरेको समाचारको पनि दाहालले खण्डन गरेका छन् ।
दहालले भने, ‘यो कुरामा सत्यता छैन, सरकारलाई कुनै चिठी आएको पनि छैन । आधिकारिक रुपमा के हो भनेर सोधिएको पनि छैन । त्यहाँ काम गर्ने मान्छेका एक जना कर्मचारीले यस्तो आएको छ भनेर बाहिर समाचारमा भनिएको मात्रै हो ।’ आधिकारिक रूपमा न चीनले भन्यो न अमेरिकाले कसैले पनि नभनेको बताए ।

