बाँके।नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरको ८४ बिगाहा जमिन व्यक्तिको नाममा नामसारी भएको कागजात फेला पार्न सकिएको छैन।
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, नेपालगन्जले करिब दुई वर्षको अवधिमा मन्दिरको सम्पत्ति खोजबिन गर्दा इन्द्रपुरमा रहेको ८४ बिगाहा १० कठ्ठा १० धुर जग्गा कसरी व्यक्तिको नाममा गयो भन्ने पत्ता लगाउन नसकेको हो।
समितिले शनिबार पत्रकार सम्मेलन गरेर मन्दिरको सम्पत्ति सार्वजनिक गर्दा ८४ बिगाहा जमिन कानुनतः हो कि अवैधानिकरूपमा व्यक्तिको नाममा नामसारी भएको हो भन्ने पत्ता लगाउन नसकेको जनाएको छ।
२०२७ पुस १३, २०२८ कात्तिक १४ र २०५७ असोज १७ गतेको निर्णयअनुसार बागेश्वरीको नाम कठ्ठा भई रैतान नम्बरी कायम गरी इन्द्रपुरको ८४ बिगाहा जमिन करिब ३ सय जनाको नाममा नामसारी भएको छ।
त्यति बेलाका निर्णयहरू प्राप्त हुन सकेको छैन। सम्पत्ति खोजबिन उपसमितिकी संयोजक एवं नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले मन्दिरको नाममा रहेको ८४ बिगाहा जमिन कसरी व्यक्तिको नाममा गयो ? कानुनतः गएको हो कि अवैधानिकरूपमा गएको हो खोजबिन गरिरहेका छौं भन्नुभयो।
उहाँले यी जग्गा रैकर कायम गरेर नामसारी भएको देखिएको जानकारी दिँदै रैकरसम्बन्धी व्यवस्था २०४०/०४१ सालमा भएकाले २०२७/०२८ सालमा कसरी त्यो व्यवस्थाअनुसार काम भयो?अन्योल बनाएको बताउनुभयो।
बागेश्वरीको यो जग्गाको विषयमा सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण जाँचबुझ आयोगको टोलीले पनि छानबिन गरिरहेको छ। टोलीका सदस्यहरू नेपालगन्ज आएर विभिन्न व्यक्तित्वलाई भेटेर फर्किसकेका छन्।
नेपालगन्जमा गठन भएको मन्दिरको सम्पत्ति खोजबिन उपसमितिले काठमाडौंको गुठी जग्गा संरक्षण जाँचबुझ आयोगको टोलीसँग मिलेर जग्गा खोजबिनको काम गरिरहेको संयोजक थापाले बताउनुभयो।२०२७, २०२८ र २०५७ सालको शुरुआती निर्णयअनुसार ६३ जनाको नाममा जग्गा गएको छ।
२०५७ सालमा करिव १५ बिगाहा जमिन महन्तको नाममा आएको छ। फेरि–फेरिको निर्णयअनुसार ८४ बिगाहा जमिन करिब ३ सय जनाको नाममा पुगेको छ।
महन्तको नाममा अहिले जग्गा नदेखिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका कानुनी सल्लाहकार लोकबहादुर शाहले जानकारी दिनुभयो।
योबाहेक मन्दिरसँग खजुराखुर्दमा ३ बिगाहा १६ कठ्ठा, मन्दिर परिसरमा १ बिगाहा १८ कठ्ठा, परसपुरमा ३ कठ्ठा १ धुर जग्गा रहेको छ।साभार नेपाल समाचारपत्र

