काठमाडाैं,५ फागुन । बलात्कारकाे प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा जेल मुक्त भएका छन् ।उनी डिल्लीबजार कारागारबाट माला लगाएर विदाइ भएका हुन् । निर्दोष ठहरिएसँगै महरा १३४ दिनपछि घर फर्किएका छन्।
उनलाई कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी लगायतले माला लगाएर विदाइ गरेका हुन् ।गत असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका महरा कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।
जिल्ला अदालत काठमाडौँले साेमबार महरा निर्दाेष रहेको फैसला सुनाएकाे हो ।
उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको थियो ।
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

