काठमाडाैं,७ फागुन । विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगन गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को सोमबार बसेको बैठकले विशेष कारणवश् अर्को निर्णय नभएसम्मका लागि स्ववियु चुनाव स्थगित गरेको त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले जानकारी दिए ।
‘विद्यार्थी सङ्गठनको सहमतिमै चुनाव स्थगित गरिएको हो’, उनले भने, ‘चुनाव हुनुभन्दा एक महिना अगाडि चुनाव कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो, तर त्यो हामीले सकेनौँ, त्यसैले चुनाव स्थगित गरेका हौँ ।’ उनले विद्यार्थी सङ्गठनको छलफल र सहमतिमा छिट्टै चुनाव मिति तय गरिने जानकारी दिए ।
भुसालका अनुसार आउँदाे चैत अन्तिम हप्ता चुनाव गर्ने गरी विद्यार्थी सङ्गठनसँग सहमति गरिनेछ । त्यसअगावै स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको परीक्षा सम्पन्न गर्ने त्रिविको तयारी छ ।
त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै क्याम्पसलाई परिपत्र गर्दै तोकिएको मितिमा चुनाव नहुने स्पष्ट पारेको छ । त्रिविका आङ्गिक क्याम्पसमा यही फागुन १४ गतेका लागि स्ववियु चुनावको मिति तोकिएको थियो ।
प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु चुनाव विद्यार्थी सङ्गठनबीचको विवादका कारणले विगत १० वर्षदेखि नियमित हुन सकेको छैन । त्रिविमा विसं २०६५ यता क्याम्पसमा स्ववियु चुनाव हुन सकेको छैन । तीन वर्षअघि विसं २०७३ मा भएको चुनाव दुई सय ५० क्याम्पसमा मात्र भएको थियो ।

