चीनलाई मोदीको चेतावनी : उस्तै परे जवाफी कारवाही गर्न पनि तयार छाैं

Bhim Thapa MainNews/प्रमुख समाचार , प्रदेश , ६ वर्ष अगाडि

मुम्बइ । भारतको उत्तरमा स्थित लद्दाख राज्यको गलवान उपत्यकामा आफ्ना २० सैनिक जवानको ज्यान जाने गरी चिनियाँ सेनासँग भएको भिडन्त बारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बल्ल मुख खोलेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफनो सम्बोधनमा चीनलाई चेतावनी दिँदै आफ्नो मुलुक शान्ति चाहने तर कसैले उक्साए उचित जवाफ दिन सक्षम रहेको बताएका छन्। १५ राज्यका मुख्यमन्त्रीसँग भर्चुअल बैठकको शुरुवातमा यस विषयमा बोल्दै मोदीले सैनिकहरुको बलिदान खेर नजाने बताएका छन् ।


उनले भनेका छन् , ‘म देशबासीलाई आश्वस्त पार्न चाहन्छु जवानहरुको बलिदान खेर जाने छैन, म यो कुरामा पूरै देशलाई आश्वस्त पार्न चाहन्छु,’ उनले भने, ‘हाम्रा लागि मुलुकको एकता र सार्वभौमिकता सबैभन्दा महत्वपूर्ण छ ।’

‘भारत शान्ति चाहन्छ तर उचित जवाफ दिन पनि उत्तिकै सक्षम छ’, उनले जोड दिएर भने । उनले मृत सैनिकप्रति श्रद्धाञ्जली दिँदै आफ्ना सैनिक सीमाको डटर रक्षा गर्दै गर्दा मारिएको बताएका छन् ।

सभामा गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंह पनि उपस्थित थिए । यसअघि भारतीय कंग्रेस नेता राहुल गान्धीले लद्दाख झडपबारे प्रधानमन्त्री किन मौन भन्दै आलोचना गरेका थिए ।