राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न राेक

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ६ वर्ष अगाडि

काठमाडाैं । काेराेना संक्रमण बढ्न थालेपछि सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । 

असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्न पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो ।सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट अर्को जिल्लामा अनुमति बिना यात्रु ओसारपसार हुन थालेपछि सुरक्षा जाँचमा थप कडाई गर्न पनि निर्देशन दिइएको छ ।

मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गर्दै यसलाई व्यवस्थित गर्न सुरक्षा मापदण्ड जारी गर्न गृहलाई निर्देशन दिएको थियो । 

यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधान पनि सुरक्षा मापदण्डमा समेटिएको छ ।उद्योग/कलकारखानालगायत कार्यस्थलमा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन पाइने छैन ।

सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली कायम गरिएको छ ।