दाेस्राे चरणकाे खाेप अभियानकाे शुरूवात प्रधानमन्त्रीबाट गरियाे

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडाैं ।कोभिड–१९ रोग विरुद्ध दोस्रो चरणको खोप कार्यक्रम आइतबारबाट शुरू भएको छ । 

दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई चरणबद्ध खोप लगाउने योजनाअनुसार ६५ बर्ष उमेर समूहमाथिका नागरिकलाई खोप दिन थालिएको छ । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर शुभारम्भ गरेका हुन्। ओलीसँगै पत्नी राधिका शाक्यले पनि खोप लगाइन्।

प्रधानमन्त्री ओलीले आफूलाई सँगै सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सरिक हुन आग्रह गरे । खोप लगाएपछि केही बेर शरीरमा एलर्जी वा अन्य कैफियत देखिन सक्ने भएकोले प्रधानमन्त्रीले केही बेर अस्पतालमा बसेकाे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनले उच्च मनोवलका साथ प्रधानमन्त्रीले खोप लगाएकाे र खोप लगाउन प्रेरित गरेकाे बताए । त्यस्तै उनले सरकारले सुरु गरेको खोप अभियानमा सहभागी हुन आग्रह पनि गरे।

परराष्ट्रमन्त्री ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले पनि कोरोना खोप लगाएका थिए। खोप लगाएपछि कांग्रेस बरिष्ठ नेता पौडेलले खोप लगाएपछि आफुले सामान्य महशुस गरेको भन्दै खोप अभियानलाई सफल पार्न आग्रह गरे।

दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका नागरिकलाई कोरोना खोप लगाउनु सुरु गरिएको हो । यस अघि पहिलो प्राथमिकतामा परेका तर विभिन्न कारणले खोप लगाउन नपाएका महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र प्रहरीलाई उपलब्धताका आधारमा खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै चैत १० गतेदेखिपछि दोस्रो प्राथमिकतामा ५५ बर्षमाथिका जेष्ठ नागरिक, महाविद्यालयका प्राध्यापक, विद्यालय (सामुदायिक÷निजी) का शिक्षक कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिइने बताइएको छ ।