जसपाले सत्ता समीकरणका विषयमा कार्यदल बनाएरै छलफल गर्ने

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)ले सत्ता समीकरणका लागि सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट औपचारिक कार्यदल बनाएरै सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको नेता राजेन्द्र महतोले जानकारी दिए ।
त्यसकाे लागि जसपाले सरकार र माओवादीसँग छलफल गर्नका लागि वार्ता टोलीलाई पूर्णता दिने नेता महतोले बताए ।

उनले आफ्नो दलका सांसद रेशम चौधरीको रिहाई लगायतका विषयमा वार्ता टोली नै बनाएर औपचारिक छलफल हुने बताए ।

टीकापुर काण्डका मुख्य अभियुक्त भनिएका चौधरीको रिहाइ लगायतका मुद्धा सम्बोधन गर्ने पक्षलाई नै समर्थन रहने निष्कर्षमा जसपा पुगेकाेछ ।

आफूहरुलाई पटक-पटक आश्वासन दिए पनि माग सम्बोधन नभएकाले आफूहरुको मागलाई प्राथमिकतामा राखेर अघि बढ्ने जसपाको निष्कर्ष छ ।

उनले सरकारमा जाने प्रस्ताव अहिलेसम्म नआएको बताए । माग सम्बोधन नभएसम्म कसैसँग सम्झौता र सहकार्य नहुने उनको भनाइ छ ।

संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ आफ्नो पार्टीका शर्त रहेको महताेले बताए ।

संघीय समाजवादी र जनता समाजवादी पार्टी एकीकृत भएर जनता समाजवादी पार्टी बनेपछि पहिलोपटक संसदीय दलको बैठक बसेको हो।