हुम्लामा दैनिक २० घण्टा लोडसेडिङ,एसइईको तयारीमा रहेका विद्यार्थी समस्यामा

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन ।

विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ । एक कार्यालय प्रमुखबाहेक अन्य कर्मचारी सबै स्थानीयवासी भएका कारण मर्मतमा चासो नदिँदा समस्या भएको हो ।

विद्युत्गृहमा पानीको स्रोत कम हुँदा विद्युत् उत्पादन क्षमतामा पनि ह्रास आएको र लोडसेडिङ दैनिकरूपमा बढ्दै गएको विद्युत् प्राधिकरण कार्यालय सिमकोटले जानकारी दिएको छ । हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घण्टा लोडसेडिङ गर्दा सिमकोटमा सञ्चालित व्यवसाय धरापमा परेका छन् ।

विद्युत् आपूर्ति नभएपछि फर्निचर, इलेक्ट्रोनिक्सका सबै व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको छ । सिमकोटमा यस्ता फर्निचर व्यवसाय सातवटा भएको र लोडसेडिङ बढेपछि ती सबै बन्द गर्नुपर्ने अवस्था आएको सिमकोटमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गरिरहेका नन्द सिंहले जानकारी दिनुभयो ।

त्यसैगरी मोबाइल मर्मत सेन्टर पनि बत्तीको समस्या भएपछि बन्द गर्नुपरेको नन्द मोबाइल सेन्टरका सुनमति सिंहले गुनासो गर्नुभयो । दैनिक चार घण्टा बत्ती आउने त्यो पनि बढी समय राति आउने भएका कारण मर्मतका लागि आउने सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहँदै आएको सिंहले बताउनुभयो ।

दैनिक लोडसेडिङको समय बढ्न थालेपछि तीन दर्जन यससँग सम्बन्धित व्यवसाय मर्कामा परेका छन् । लोडसेडिङको समय बढ्दै गएपछि विद्यार्थीलाई थप समस्या बनाएको छ । राति १० बजेपछि मात्रै विद्युत् आपूर्ति हुँदा विद्यालयमा दिएको गृहकार्य गर्न समस्या बनाएको मानसरोवर माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा एञ्जिला रोकायाले बताउनुभयो । यस्तै जेठमा हुने एसइईको तयारी गरिरहेका छात्रछात्रालाई झन् समस्या बनाएको छ ।

गाउँबाट ट्युसन पढ्नका लागि सदरमुकाम सिमकोट आएका विद्यार्थीलाई दैनिक २० घण्टा लोडसेडिङ हुँदा समस्या बनाएको छ । विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पताल हुम्लालाई समेत समस्या भएको छ । दिउँसो समयमै विद्युत् आपूर्ति नभएर लोडसेडिङ हुँदा विद्युत्को माध्यमबाट हुने काम ठप्प भएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो । यस्तै सदरमुकाम सिमकोटमा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्नसमेत समस्या बनाएको छ ।