काठमाडाैं । सत्तासीन नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेतासँग स्पष्टीकरण लिने निर्णय गरेको छ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार उनको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले गुटगत गतिविधिमा संलगन भएको आरोप लगाउँदै उनीहरुसँग स्पष्टीकरण लिने निर्णय गरेको हो।
बैठकले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। गुटगत भेला गरेको आरोप उनीहरुमाथि लगाइएको छ। बरिष्ठ नेता झलनाथ खनालबारे भने बैठकले केही पनि निर्णय गरेको छैन। शनिबारको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षीय नेताहरु सहभागी थिएनन्।
यसअघि केन्द्रीय कमिटी बैठकमा नगएका उपाध्यक्ष वामदेव गौतम पहिलो पटक केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन्। २८ फागुनमा बसेको केन्द्रीय कमिटी बैठकले गौतमको पनि जिम्मेवारी खोसेको थियो।
नेपाल पक्षले भने २८ फागुनको बैठकले गरेका निर्णय फिर्ता नगरेसम्म केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने अडान राख्दै आएको छ।

