मेडिकल माफियाको हितमा काम गरे डा. केसीले सत्याग्रह सुरू गर्ने

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारका लागि बिभिन्न ५ बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

डा केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि ५ बुँदे माग अगाडि सारेका हुन् । डा केसीले सरकार परिवर्तन भएपछि आफ्ना मागबारे जानकारी दिन र मेडिकल माफियालाई खबरदारी गर्न आवश्यक भएको बताए ।

उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनका सबै मागहरु पूरा गनुपर्ने उल्लेख गरेका छन् । भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीलाई तत्काल पदमुक्त गर्न, राजनीतिक भागबण्डाका आधारमा नभइ योग्यता र क्षमताका आधारमा पदाधिकारी नियुक्त हुनुपर्ने उनकाे माग छ ।

२०८५ सालदेखि मेडिकल शिक्षा गैरनाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले नीति कार्यान्वयनको तयारी तत्काल गर्नुपर्ने, आफूसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनले बताए । उनले आफ्ना मागहरु पूरा नभए सत्याग्रहसहित आन्दोलनका कार्यक्रमहरु ल्याउन बाध्य हुने चेतावनी दिए ।