कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ३ वर्ष अगाडि

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने चेतावनी दिँदै तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहरको जोखिम रहेको उल्लेख गरेका छन् ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहरको आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्या लगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्तदुरुस्त राख्न अनुरोध छ ।’ 

मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताए ।

नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण छ ।नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै छ लाख ३६ हजार ४०२ व्यक्ति स्वास्थ्य लाभ गरी घर फर्किएका र नौ हजार ६३७ को सङ्क्रमणबाट निधन भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयकाे विज्ञप्ति ।