निर्माण व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार : अर्थमन्त्री शर्मा

Bhim Thapa Business/अर्थ ब्यापार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन्  ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई बिहीबार भेट्दै अर्थमन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धासहित व्यवसायीक क्षमता मुल्याङ्कन गरी व्यवसाय गर्न र क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्र्डड बिडिङ डकुमेन्ट) मा गर्नुपर्ने संशोधनको सुझाव दिन सल्लाह दिए । केही व्यवसायीमा काम लिने तर काम नगर्ने परिपाटी देखिएको भन्दै मन्त्री शर्माले काम एउटा व्यवसायीले लिने तर कार्यक्षेत्रमा अर्कालाई खटाउनु ठीक नभएको बताए ।

मुख्य व्यवसायीले नै सम्बन्धित् काम गर्नुपर्ने र बजारमा रहेको बाँकी रकम समय मै भुक्तान गर्नुपर्ने उनको भनाइ थियो । काम गर्ने वातावरण अनुकूल हुने गरी महासंघले ल्याउने प्रस्तावमा छलफल गर्न आफू तयार रहेको उनले जानकारी दिए ।

नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै प्रतिनिधिमण्डलले निर्माण व्यवसायीहरूको समस्या र समाधानका उपाय बारे समेत जानकारी गराएको छ । प्रतिनिधिमण्डलले अर्थमन्त्रीको रूपमा शर्माको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।