एमाले बैठक: एकताका लागि आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले एकताको लागि अधिकतम प्रयास राख्न र एकताका लागि आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिने निर्णय गरेको छ ।

विहीबार सम्पन्न एमाले केन्द्रीय कमिटीको दशौं बैठकले एकताका लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने र एकताको आवश्यक निर्णय लिने अधिकार अध्यक्षलाई दिएको हो । नेतृत्वको तर्फबाट पार्टीलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष बैठकले निकालेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्ने गरी आउन चाहनेलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने बताउनुभएको उहाले बताउनुभयो । एकताका लागि आवश्यक छलफल भइरहेकाले कारवाहीका बारेमा अरु निर्णय नगरिएको ज्ञवालीले जानकारी दिनुभयो ।

उहाले एकताका लागि चलाइएका छलफल छिटो निष्कर्षमा पुग्ने बताउनुभयो । ज्ञवालीले राष्ट्रिय राजनीतिमा देखिएका परिघटनाबाट प्रदेश सरकारलाई जोगाउन प्रयास गर्ने धारणा राख्नुभयो ।

यसअघि बिहीबार नै पुष्पलाल स्मृति दिवसको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि आव्हान गर्नुभएको थियो भने एकतामा आउन चाहे माफी दिन सकिने बताउनुभएको थियो ।