काठमाडौं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले सोमबारदेखि १० दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार लम्ब्याइएको दश दिने निषेधाज्ञामा पनि कुनै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लबलगायत मानिसको भिडभाड हुने कार्यक्रम गर्न पाइनेछैन ।
यस्तै, खुला स्थानमा मानिस भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न पनि नपाइने भएकाे छ।
रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवा पनि साँझ ७ बजेसम्म मात्रै चलाउन पाइने छ । औषधि तथा स्वास्थ्य सामाग्रीका पसलबाहेक अरू पसल र व्यवसाय साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउनेछन् ।