भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि

Bhim Thapa Banner Headline with Image , Latest Update , News/समाचार , Others/अन्य , ३ वर्ष अगाडि

काठमाडाैं । सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन थालिएको हो । आफूलाई पायक पर्ने काठमाडौँ जिल्लाका ४२ वटा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरिएको छ ।

काठमाडौँ महानगरपालिकामा ३२ वडा र अन्य नगरपालिकाका १० खोप केन्द्र रहेका छन् । मन्त्रालयले खोप लगाउन बाँकी भएका व्यक्तिलाई मन्त्रालयको वेबसाइट www.vaccine.mohp.gov.np मा गएर दर्ता गर्नसमेत आग्रह गरेको छ । अहिलेसम्म नेपालमा करिब ९७ लाख खोप आइसकेको छ भने २० लाख दुई हजार ७०३ पूर्ण र ४२ लाख ५४ हजार ५४० पहिलो मात्रा खोप लगाइसकेका छन् ।