काठमाडाैं । के तपाईं पुनः श्रम स्वीकृति लिँदै हुनुहुन्छ ? त्यसाे हाे भने अनलाइनमार्फत नै लिन मिल्ने व्यवस्था गरिएकाे छ । अनलाइनमार्फत नै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्थाले भौतिक रूपमा कार्यालयमै उपस्थित हुनुपर्ने, श्रम अवधि सकिएपछि श्रम गर्नकै लागि भनेर विदेशबाट नेपाल आउनुपर्ने बाध्यता अब छैन ।
तर कतिपय अवस्थामा अनलाइन आवेदन दिने सही तरिका नमिल्दा रिजेक्ट हुने समस्या भइरहेको हुन्छ । अनलाइनमार्फत श्रम स्वीकृति लिनको लागि पनि केही सर्तहरू भने पुरा गरेको हुनुपर्छ । पहिले पनि श्रम स्वीकृति लिएको र एक पटक विभागमै गएर बायोमेट्रिक भएको हुनुपर्छ । एक पटक बायोमेट्रिक भएकाहरूले मात्र त्यसरी अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सक्नुहुन्छ । तर जसले बायोमेट्रिक गर्नुभएको छैन उहाँहरूले भने श्रम कार्यालयमा गएर नै पुनः श्रम स्वीकृति लिनुपर्छ ।
श्रम स्वीकृति लिँदा खेरि फिङ्गर प्रिन्ट या आइ स्क्यान दिनुभएको छ भने उहाँहरूको त्यो रेकर्ड विभागको कम्प्युटरमा बसेको हुन्छ । बायोमेट्रिक भनेको त्यही हो । जो बायोमेट्रिक प्रणालीमा हुनुहुन्न उहाँहरूले अहिले कार्यालयमै आएर बायोमेट्रिक मार्फत रेकर्ड राख्नुपर्छ । त्यसपछि अर्को पटक भने अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सक्नुहुन्छ ।
बायोमेट्रिक प्रणालीमा गइसकेपछि विभागमा उहाँको प्रोफाइल बन्छ । उहाँको यूजर आइडी बन्छ । त्यो उहाँलाई जानकारी दिइन्छ । आफ्नो यूजर आइडी र पासवर्ड भने याद राख्नुपर्छ ।
यदि आइडी र पासवर्ड बिर्सिनुभयो भने पनि उहाँले आफ्नो राहदानी नम्बर राख्नुभयो भने आइडी थाहा हुन्छ तर खोल्न भने मिल्दैन । पासवर्ड बिर्सेमा हामीलाई जानकारी गराएपछि यहाँबाट पासवर्ड रिसेट हुन्छ । र नयाँ पासवर्ड म्यासेज वा इमेलमा पठाइदिन्छौँ । त्यसको लागि कल सेन्टरमार्फत हामीलाई जानकारी गराउँदा पनि हुन्छ । सिधै हामीलाई फोन गरेर भन्दा पनि हुन्छ । उहाँहरूले कार्यालयमा जानकारी गराएपछि पासवर्ड रिसेट गरिदिन्छौँ ।
नयाँ पासवर्डमार्फत लगअन गर्न सक्नुहुन्छ । पुनः श्रम लिनको लागि कम्तीमा ६ महिना अवधि भएको भ्यालिड पासपोर्ट, भ्यालिड भिसा चाहिन्छ । कम्पनी परिवर्तन गरेको खण्डमा नयाँ कम्पनीको करार पत्र चाहिन्छ । मुख्य कागजात यिनै हुन् । देशअनुसार चाहिने कागजात फरक फरक पनि हुन्छ ।
कहिलेकाहीँ अध्यागमन विभागको अराइभल डिपार्चरको कागज पनि चाहिन सक्छ । यस्तै कहिलेकाहीँ अरू सपोर्टिङ कागजात पनि चाहिन सक्छ ।
जो विदेशमै हुनुहुन्छ उहाँहरूले पुनः श्रम लिनुपर्यो वा नवीकरण गर्नुपर्यो भने उहाँहरूले नेपालमा नभएको र विदेशमै काम गरिरहेको भन्ने खुलाएर आफू कार्यरत कम्पनीको चिठी र एप्लिकेशन लेटर राख्नुपर्छ । यस्तै कल्याणकारी कोषको पैसा पनि तिर्नुपर्छ १५ सय रुपैयाँ । त्यो पनि अनलाइनबाटै, ईसेवालगायत अनलाइन माध्यमबाट तिर्न मिल्छ ।
अनि बिमाको लागि पैसा तिर्नुपर्छ । बिमाको पनि कति वर्षे करार हो त्यो अनुसार फरक फरक दर हुन्छ । त्यो पनि अनलाइनबाटै तिर्नै सकिन्छ । यति भरिसकेपछि अनलाइन फर्म सबमिट गर्नुपर्ने हुन्छ । त्यो सबमिट भएपछि हाम्रो सिस्टममा देखिन्छ । त्यो सिस्टम अनुसार हाम्रोमा दैनिक सीमित सङ्ख्यामा मात्र कोटा तोकेका हुन्छौँ । त्यसको लागि हामीले टोकन नम्बर पठाउँछौँ । कुन दिन पुनः श्रम स्वीकृति लिन मिल्ने हो त्यो दिन तोकेर टोकन दिएका हुन्छौँ ।
यी गल्ती नगर्नुहोस्
आवेदन भर्दाखेरि शाखा छनौट गर्नुपर्ने हुन्छ । शाखा छनौट गर्दा अनलाइन ब्रान्च भन्ने हुन्छ त्यसमा क्लिक गर्ने । त्यहाँ काठमाण्डौ, पोखरा, बुटवल भन्ने पनि विकल्प हुन्छ । त्यसमा क्लिक गर्नुभयो भने त्यही ठाउँमा गएर लिने भन्ने हो । कतिपयले यसमा गल्ती गर्नुहुन्छ । अनलाइनबाट श्रम लिन खोज्नुहुन्छ फेरि ब्रान्चमा अनलाइन क्लिक नगरेर काठमाण्डौ, पोखरा लगायत अप्सनमा क्लिक गर्नुहुन्छ ।
त्यसो हुँदा सिस्टमले यो मानिसले त्यही ठाउँमा गएर श्रम लिने रहेछ भनेर बुझ्छ र उहाँहरूलाई समस्या हुन्छ । दश दिन भइसक्यो अनलाइनबाट पुनः श्रमको लागि फर्म भरेको आजसम्म केही भएन भन्ने गुनासो पनि गर्नुहुन्छ ।
तर उहाँहरूले अनलाइन ब्रान्च छान्ने बेला गल्ती गर्नुभएको हुन्छ । यसमा होसियार हुनुपर्छ । अनलाइन ब्रान्च छान्दाखेरि जुन दिनको टोकन खाली छ त्यही दिनको टोकन सिस्टममा देखाउँछ । जुन मितिमा त्यो टोकन देखाएको छ त्यही मिति छनौट गर्नुपर्छ ।
टोकनमा १२ तारिखको मिति छ भने त्यो भन्दा पहिलेको मिति सिस्टममा देखिँदैन । १२ तारिखपछि मात्र सिस्टममा देखिन्छ । सिस्टमले आफैँ उहाँको आवेदनलाई क्युमा राख्छ । उहाँले आवेदन दिनुभएकाभन्दा अगाडिका सबैको काम भएपछि मात्रै उहाँको काम हुन्छ । क्रमबद्ध तरिकाले पालो आउँछ ।
यदि आवेदन दिने कम छन् भने आजैको टोकन पनि पाउन सकिन्छ यदि आवेदन दिने धेरै छन् भने सिस्टमले पाँच दिनपछि पनि पालो आउन सक्छ । कहिले पालो आउने भन्ने कुरा देखाउने नै टोकनले हो । पाँच दिनपछि टोकन देखायो भने त्यो भन्दा अगाडि सिस्टममै देखिँदैन । यस्तो कुराहरूमा पनि ध्यान दिनुपर्छ ।
त्यसैले कुन मितिको टोकन छ, आफू कहिले जाने हो त्यो सबै यकिन गरेर मात्रै हप्ता दश दिन अगाडि अनलाइन फर्म भर्नुभयो भने सजिलो हुन्छ ।साभार : उज्यालाे अनलाइ डट कम