ह्वाट्सएप, जिमेल र आउटलुकमा स्क्यामका घटना बढ्दै

NewsBankNepal Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , ३ वर्ष अगाडि

काठमाडौं, साउन २७ । जिमेल, आउटलुक जस्ता ईमेल सर्भिसका साथै म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपमा पछिल्लो समय स्क्यामका घटना बढेका छन् । साइबर सुरक्षासँग सम्बन्धित अनुसन्धानविद्हरूले यस्ता प्लेटर्फममा आउने म्यासेज तथा ईमेल खोल्नुअघि विचार पुर्‍याउन आग्रह गरेका छन् ।

यसैबीच साइबर सेक्युरिटी संस्था कास्परस्काइले सन् २०२१ अर्को ठूलो स्क्याम वर्षको रुपमा स्थापित भएको भन्दै सम्भावित दुर्घटनाबाट बच्न अनुराेध गरेको छ ।

कास्परस्काइका अनुसार यो वर्ष भएका ठूला स्क्यामका घटनामा ईमेल स्क्याम सबैभन्दा अघि देखिएको छ । जसमा प्रयोगकर्तालाई लक्की ड्र, अनलाइन डेलिभरी लगायतका विभिन्न प्रलोभनमा सामान पठाउनका लागि कस्टम शुल्क, ढुवानी खर्च भन्दै पैसा असुल्ने गरेको पाइएको छ ।

कोरोनाका कारण सामान्य अवस्थाको तुलनामा अनलाइनबाट सामान मगाउने क्रम उल्लेख्य रुपमा बढेको छ । त्यो हुँदा ईमेल तथा ह्वाट्सएपमा आउने अनलाइन शपिङसँग सम्बन्धित लिंकमा प्रयोगकर्ता झुक्किएका छन् ।

जसले गर्दा स्क्यामरले प्रयोगकर्तालाई फेक वेबसाइटमा पुर्‍याएर उनीहरूको पैसा तथा बैंकका सम्पूर्ण जानकारी समेत संकलन गर्ने गरेको पाइएको छ ।

पछिल्ले समय देखिएको अर्को स्क्याममा फेक वेबसाइटहरू हुन् । जहाँ विभिन्न सामान अर्डर गर्न सकिने बनाइएको हुन्छ । त्यहाँबाट प्रयोगकर्ताले सामान अर्डर गर्छन् र त्यसको अनलाइन भुक्तानी गर्छन् । तर, सामान भने आउँदैन ।

ईमेलमा हुने यस्ता स्क्यामका घटनाबाहेक ह्वाट्सएपमा पनि त्यस्तै खालका घटना हुने गरेको छ । पछिल्लो समय ह्वाट्सएप स्क्यामका लागि केन्द्रविन्दु बन्दै आएको यसअघिका अध्ययनले पनि देखाएका छन् । टेकपाना बाट