भदौ पहिलो हप्ता पछी जसपाले मन्त्री टुङ्गो लगाउने

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाण्डौ, साउन २८ । भदौ १ र २ गते बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको जसपाले त्यस पछी मात्र मन्त्री को टुङ्गो लगाउने भएको छ ।

जसपा उपेन्द्र यादव पक्षले काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने निर्णय गरिसकेको भएपनी मन्त्रीको बारेमा अझै निर्णय गर्न सकेको छैन । सत्ताधारी गठबन्धनको साझा न्युनतम कार्यक्रम तयार भएपछि सरकारमा सहभागी हुने भन्दै आएको जसपा नेपालले अझै सरकारमा जाने व्यक्ति छान्न नसकेको हो ।

सरकारको साझा न्युनतम कार्यक्रम आइसकेपछि जसपा नेपालले एमाले माधवकुमार नेपाल पक्षको निर्णयलाई कुरेको भन्दै आलटाल गरेको थियो । तर अहिले आएर भदौ १ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकपछि मात्र सरकारमा कसलाई पठाउने भन्नेबारे टुङ्गो लाग्ने जनाएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘भदौको पहिलो हप्ता यता सरकारमा सहभागिता सम्भव छैन, भदौ १ गतेदेखि पार्टीको बैठक छ, त्यो बैठकपछि मात्र मन्त्री चयन गरेर पठाउने छौं ।’ सरकारका बारेमा एमाले माधवकुमार नेपाल पक्षले पनि केही निर्णय दिइएको छैन र काँग्रेसको पनि केन्द्रीय समिति बैठक सुरु भएकोले अहिले हतार गरेर मन्त्री पठाउने काम नगर्ने बताए ।

हतारमा मन्त्री पठाएर पछाडि पश्चाताप गर्नुभन्दा सबै कुरा ठीकठाक पारेर मात्र सरकार जाने आफूहरुको सोच रहेको उनको भनाइ छ । उनले सरकारमा जान हतार नरहेको प्रस्ट पार्दै भने ‘मन्त्रिमण्डल विस्तारका लागि न गठबन्धनमा कुनै समस्या छ, न कुनै पार्टीमा समस्या छ ।’
गठबन्धनमा रहेका सबै दलले एकैपटक मन्त्री पठाउने सोच बनाएको भन्दै उनले यसमा अलिकति ढिला भएजस्तो देखिएको टिप्पणी गरे । तर अलिकति ढिला हुँदैमा केही फरक नपर्ने उनको भनाइ छ । उनले भने, ‘सबै झन्झट क्लियर गरेर जाँदा राम्रो हुन्छ ।’
आफूहरुको पार्टीमा आन्तरिक विवादलाई लिएर सर्वोच्चमा मुद्दा चलिरहेको र यस बीचमा उक्त विषयको पनि समाधान हुने देखिएको बताउँदै अध्यक्ष यादवले अहिले गठबन्धनमा कसले कतिवटा मन्त्रालय पाउने, कुन कुन मन्त्रालय पाउने भन्नेबारे छलफल नभएको प्रस्ट पारे । पार्टीमा पनि अहिले त्यो विषयले प्रवेश नपाएको उनको भनाइ छ ।

यद्यपि, जसपा कार्यकारिणी समितिको बैठकले मन्त्री चयनको विषयमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा ।बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी तोकिसकेको छ । उनीहरु आन्तरिक रुपमा यसका विषयमा छलफल गरिरहेका छन् ।