माओवादी केन्द्रीय कमिटी बैठक: पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं,३० साउन ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।

शनिबारबाट काठमाडौंमा सुरु माओवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक सांगठनिक प्रतिवेदन पेश गर्दै राष्ट्रिय सम्मेलनको प्रस्ताव गरेका हुन् । प्रस्तावमा यही भदौ मसान्तभित्र देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ ।

असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरू गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । त्यस्तै बैठकमा प्रचण्डले बिधान मस्यौदा प्रतिवेदन पेश गर्नुभएको थियो । विधान कार्यदल र संगठनात्मक कार्यदलले अघि सारेका प्रस्तावहरुका साथै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्न विभिन्न ८ समूह गठन गरिएको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सात प्रदेशका सात वटा र भूगोल बाहेकका केन्द्रीय सदस्यहरुको १ गरि ८ समूहमा छलफल गरेर आइतबार ११ बजे बस्ने बैठकमा सुझाव पेश गर्ने कार्यतालिका रहेको उनले बताए ।

त्यसअघि बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगामीहरु नयाँ योजनाका साथ अघि आउन सक्ने संभावना रहेकाले पार्टी पंक्ति सचेत हुनुपर्ने बताएका थिए । प्रचण्डले केन्द्रीय समिति बैठक सकिएपछि सरकारको सन्दर्भमा सघन ढंगले छलफल हुने जानकारी गराएका थिए । वाम लोकतान्त्रिक अभियानलाई निरन्तरता दिनुपर्नेमा प्रचण्डले जोड दिएका थिए ।