काठमाडाैं,३२ साउन । सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।सोमबार बसेकाे मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको उद्धार गर्ने निर्णय गरेकाे हाे ।
अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि सरकारका सम्बन्धित निकायहरूलाई समन्वय गर्न पनि निर्देशन दिइएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै, बेलायतको राजधानी लन्डनमा भूतपूर्व गोर्खा सैनिकले थालेको आमरण अनशनप्रति सरकारको ध्यानाकर्षण भएको जनाएकाे छ ।यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको मन्त्री कार्कीले बताए ।भूतपूर्व सैनिकहरूले समान अधिकारको माग राख्दै आमरण अनशन थालेका छन् ।

