काठमाडौँको कपनमा बोरिङ खन्दा मिथेन ग्यास मिसिएको पानी निस्कियो

NewsBankNepal Latest Update , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं,२ भदाै । पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरामा मिथेन ग्यास निस्किएकाे छ ।

भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन् ।फोहोरा जारी रहेपछि उनीहरुले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए । सूचनापश्चात् घटनास्थल निरीक्षणमा आइपुग्नुभएका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्यास मिसिएको जानकारी दिनुभयो ।

त्रसित स्थानीयवासीको प्रतिक्रियामा उहाँले ग्यासलाई बन्द गर्न नहुने र सतर्कताका लागि भने वरिपरि ग्यास, आगो, लाइटरजस्ता कुरा बाल्न नहुने बताउनुभयो ।

कपन प्रहरी चौकी प्रमुख प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले भूगर्भविद्को सल्लाहअनुसार घटनाको दुई सय मिटर वरपर घरमा ग्यास, लाइटर नबाल्न सचेत गराइएको जानकारी दिए ।