हेटौंडा,११ भदाै । वाग्मती प्रदेशको सरकार एक हप्तामै धरापमा परेको छ । एमालेकै सरकार टिकाउनकै लागि भन्दै एक साता अघि मात्र अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइएको थियो ।
माधवकुमार नेपालको नेतृत्वमा अर्काे पार्टी गठन भएकाले मुख्यमन्त्री शाक्यको सरकार धरापमा परेको हो । नयाँ दल दर्ता गराएपछि अष्टलक्ष्मीलाई पूर्व एमाले अर्थात् हालको नेकपा एकीकृत समाजवादीका सांसदले साथ नदिने संकेत देखिएको छ ।
उनले मन्त्री बनाएका व्यक्ति नेपाल पक्षमा लागेपछि उनलाई झट्का लागेको हो । मुख्यमन्त्री हुने वित्तिकै उनले दुई मन्त्री नियुक्त गरेकी थिइन् ।सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएका कृष्णप्रसाद खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा गएपछि अष्टलक्ष्मी नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा परेको हो।
एमाले जोगाउन र विभाजन हुन नहुने भन्ने सन्देश दिनका लागि आफू मुख्यमन्त्री बनेको बताउने गरेकी छिन् ।माधव नेपाल र केपी ओलीको सहमति र सल्लाहमै आफू मुख्यमन्त्री बनेको भन्दै उनले आफ्नो कुर्सी जोगाउने रणनीति बनाएकी थिइन् ।
लामो समयसम्म माधव नेपाल पक्षमा रही एमाले अध्यक्ष केपी शर्मा ओलीले चालेका कदमको खुलेर विरोध गर्ने गरेकी शाक्य एकाएक मुख्यमन्त्री बनेको देख्दा सबै आश्चर्यमा परेका थिए ।वाग्मती प्रदेशमा हाल बहुमतका लागि ५५ जनाको समर्थन चाहिन्छ । पार्टी नफुट्दासम्म एमालेका ५६ सांसद थिए ।