सभापतिमा उम्मेदवारी दिने निधिको घाेषणा,धर्मगुरू भेला गराएर बानेश्वरमा खाेले सम्पर्क कार्यालय

NewsBankNepal Banner Headline with Image , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं,११ भदाै । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घाेषणा गरेका छन् ।

बानेश्वरस्थित थापागाउँमा शुक्रबार सम्पर्क कार्यालय खाेलेर उपसभापति निधिले आफू सभापतिकाे उम्मेदवारीकाे तयारीमा लागेकाे बताएका हुन् । उनले शुरूदेखि नै उम्मेदवारी दिने बताउँदै आए पनि यसरी सम्पर्क कार्यालय नै खाेलेर अगाडि बढेका भने थिएनन् ।

सभापतिको सबै भन्दा प्रवल दावेदारको रुपमा रहेका उपसभापति निधिले आजबाट सम्पर्क कार्यालय खोलेर भेटघाट र छलफलको थलो बनाएका हुन् । 

सम्पर्क कार्यालयकाे उद्घाटन पश्चात बाेल्दै उनले अब हुने आम निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउने गरि ध्यान केन्द्रित गर्ने बताए ।

कांग्रेस र मतदाताबीचकाे सम्बन्ध अझ प्रगाढ बनाउने उनकाे उद्घाेष थियाे । आफूले कसैलाई पराजित गर्नका लागि उम्मेदवारी दिन लागेकाे नभइ पार्टी र जनताकाे हितका लागि नै आफ्नाे उम्मेदवारी खडा भएकाे प्रष्टयाए ।

पशुपतिनाथ,जानकी, दक्षिणकाली, बगलामुखी, डाेल्श्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट सम्पर्क कार्यालयकाे उद्घाटन गरिएकाे थियाे । उहाँहरूले आगामी महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुहाेस् भनेर निधिलाई शुभकामना दिएका थिए ।