काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् ।
आगामी अक्टोबरमा हुने १०आँै महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।
युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक महत्वपूर्ण जिम्मेवारी हो । उहाँ नवौँ महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुनुभएको थियो । उहाँले संस्थाका समयसान्दर्भिक सवाललाई पूर्णता दिन आफूले उम्मेदवारी दिने जानकारीदिनुभयो ।
त्यसैगरी एनआरएनएको युरोप क्षेत्रीय उपसंयोजक पदमा सागर लामाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काभ्रेपलाञ्चोक स्थायी घर भएका लामा लामो समयदेखि अयरल्याण्डमा बसोबास गर्दै आउनुभएको छ ।
सन् २००३ देखि संस्थामा आवद्ध उहाँको विभिन्न व्यवसायमा लगानी छ । हेल्प नेपाल नेटवर्क आयरल्याण्डको संयोजक भइसक्नुभएका उहाँले अहिले हस्तकलाको व्यवसायमा आवद्ध रहनुभएको छ ।् आगामी अक्टोबर २३ देखि २५ सम्म नेपालमा हुने एनआरएनए अन्तरर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनको दौरानमा हुने निर्वाचनमा विभिन्न पदका आकाङ्क्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।