काठमाडाैं । बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रतिनिधित्व गरेका १२ सदस्यले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
उनीहरुले औपचारिकरूपमा एमाले पार्टी छोड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन् । समाजवादी रोज्नेमा मुख्यमन्त्री शाक्य नेतृत्वमा भर्खरै गठन भएको सरकारका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालसमेत रहेका छन् ।
बाह्र जना प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा जानका लागि सनाखत गरेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ । एकीकृत समाजवादी रोज्नेमा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर, रमा आलेमगर, कुसुमकुमार कार्की र कृष्ण शर्मा खनाल छन् ।
बाह्र प्रदेशसभा सदस्यले दल परिवर्तन गरेपछि अष्टलक्ष्मी शाक्य नेतृत्वको नवगठित सरकार अल्पमतमा परेको छ ।