भक्तपुरमा पुगेर सभापति देउवाले दिए महेश बस्नेतलाई कडा चुनाैती

NewsBankNepal Banner Headline with Image , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

भक्तपुर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा आफूलाई नभएर भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन महेश बस्नेतलाई चुनौती दिएका छन् ।

शुक्रबार भक्तपुरबाट पार्टीको वडा अधिवेशन शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले थापालाई हराएर देखाउन बस्नेतलाई चुनौती दिएका हुन् ।केही दिनअघि भक्तपुरका एमाले नेता बस्नेतले भक्तपुरमा शेरबहादुर देउवा चुनावमा लड्न आए आफुले सहजै जित्ने बताएका थिए ।

देउवाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरी पार्टी संगठनलाई थप सशक्त बनाइने भन्दै महाधिवेशन सफलताका लागि एकताबद्ध भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । सभापति देउवाले आगामी दिनमा कांग्रेस बलियो र सशक्त हुने विश्वास व्यक्त गरे ।

त्यस्तै भक्तपुर कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले पार्टीको अधिवेशनदेखि महाधिवेशनसम्म पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताए । त्यस्तै उनले आगामी चूनावमा पार्टीलाई पहिलो पार्टी बनाउन शसक्त भूमिका खल्ने धारणा राखे।

सभापति देउवाले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ मा वडा अधिवेशनको उद्घाटन गरेका हुन् । वडा अधिवेशन र २१ भदौदेखि निर्वाचन हुनेगरी यसअघि नै कांग्रेले कार्यतालिका सार्वजनिक गरिसकेको छ । निर्वाचनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन्।