मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा नेपाल भारतसँग पराजित

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Sports/खेलकुद , ३ वर्ष अगाडि

काठमाडाैं । भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भारतले नेपालमाथि जित हासिल गरेको हो ।

भारतका लागि फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गर्नुभयो । नेपालका लागि सान्त्वना गोल तेज तामाङले गर्नुभयो । पहिलो हाफमा प्रदर्शन गरेको खेललाई दोस्रो हाफमा निरन्तरा दिन नसक्दा नेपाल पराजित हुन पुगेको हो । नेपाल र भारत दुवैले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए ।

दुवै टोलीका तर्फबाट पटकपटक गोलको प्रयास गरे पनि सफल भने हुन सकेन । दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएका फारुख चौधरीले खेलको ६२औँ मिनेटमा भारतका लागि पहिलो गोल गर्नुभएको थियो । यस्तै खेलको ८०औँ मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले आफ्नो टोलीका लागि दोस्रो गोल गर्नुभयो । उहाँ बिनाअवरोध सहजै गोल गर्न सफल हुनुभयो । भारतले दुई गोल गरेपछि नेपालले आक्रामक खेल खेल्न पुगेको थियो ।

खेलको ८७औँ मिनेटमा नेपालका लागि तेज तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्नुभयो । उहाँले झण्डै २० यार्ड टाढाबाट गोल गर्नुभएको थियो । नेपाली टोलीले दोस्रो हाफमा पनि गोल गर्ने उत्कृष्ट मौका पाए पनि त्यसको सदुपयोग गर्न भने सकेन । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले एक÷एक गोलको बराबरी खेलेका थिए । नेपालका लागि अन्जन विष्टले गोल गर्नुभएको थियो भने भारतका लागि अनिरुद्ध थापाले गोल गर्न सफल हुनुभएको थियो ।

आज खेलको ७४औँ मिनेटमा भारतीय टोलीका प्रशिक्षक इगिर स्टिमिकले पहेँलो कार्ड पाउनुभएको थियो । भारतविरुद्धको दोस्रो खेलमा नेपालका राजन गुरुङ र गोलकिपर विशाल श्रेष्ठले डेब्यु गर्नुभएको थियो । खेलको म्यान अफ दि म्याच नेपालका तर्फबाट तेज तामाङ तथा भारतका तर्फबाट अनिरुद्ध थापा घोषित हुनुभयो ।

दुवैले जनही रु २५ हजारको चेक र ट्रफी प्राप्त गर्नुभयो । यस्तै प्लेयर अफ दी सिरिज भारतका रहिम अली घोषित हुनुभयो । उहाँले रु एक लाखको चेक र ट्रफी पाउनुभयो । उहाँहरूलाई गृहमन्त्री बालकृष्ण खाण, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले चेक र ट्रफी वितरण गर्नुभयो । आजको खेलसँगै नेपाल र भारतबीच २१ पटक फुटबल मैदानमा भिडन्त भएको छ । भारत १४ खेलमा विजयी हुँदा नेपालले दुई खेल मात्र जित्न सकेको छ । दुवै टोलीले पाँच पटक बराबरी खेलेका छन् ।

विश्व फुटबल महासङ्घ (फिफा) को बरियतामा नेपालभन्दा भारत ६३ स्थान माथि छ । भारत १०५औँ स्थानमा तथा नेपाल १६८औँ स्थानमा रहेको छ । अन्तिम समयमा आएर दर्शकलाई मैदानमा प्रवेशको अनुमति दिइएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले खेल हेर्न अनुमति दिएको हो । खेलमा पाँच हजार १०० दर्शकले मैदान प्रवेशको अनमुति पाएका थिए ।

भातीय टोली नेपालसित खेल्न ६ वर्षपछि नेपाल आएको हो । नेपालले भारतीय टोलीलाई ८ वर्षयता हराउन सकेको छैन । भारतले नेपालको गोलपोष्टमा हालसम्म ३५ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा ११ गोल मात्र गर्न सकेको छ ।

एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदै छ ।