कांग्रेसकाे १४औँ महाधिवेशनकाे प्रचारात्मक नारा तय

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको आसन्न १४औँ महाधिवेशन प्रचारात्मक नारा तय गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने नारा तय गरेको हो । 

विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न बैठकले महाधिवेशनको पूर्व सन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको ‘चिन्तन चौधौँ महाधिवेशन’ कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिए । उक्त कार्यक्रममा सिद्धान्त, विचार, देश, कांग्रेस, राजनीति, प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रुपान्तरणका विषयमा ‘समूहगत छलफल’ गरिने छन् ।

‘चिन्तन चौधौँ महाधिवेशन’ कार्यक्रम संयोजनको जिम्मेवारी विभागका उपप्रमुख डा सुरेश आचार्यलाई दिइएको छ । कार्यक्रम तयारी र व्यवस्थापनका लागि अन्य विभिन्न उपसमिति गठन गरिएको र कार्यक्रमको एक साता पूर्व मिति सार्वजनिक गरिने उनले बताए। प्रविधिमैत्री कांग्रेस अभियान निरन्तरता क्रममा ‘नेपाली कांग्रेस वृहत सूचना सञ्जाल’ गठन गरिएको छ ।

पार्टीको प्रविधि सम्बन्धी र सामाजिक सञ्जाल समन्वय सम्बन्धी कार्यमा सरिक सबैलाई सङ्गठित गर्दै सञ्जाल कार्यक्रमको आचारसंहितासमेत पारित गरिएको विभागले जनाएको छ । विभाग सदस्य एवं पार्टीको प्रविधि र सामाजिक सञ्जाल उपसमितिका संयोजक ई दिपेश विष्टको संयोजकत्वमा सूचना सञ्जालको २७ सदस्यीय केन्द्रीय संरचना तथा ७ प्रदेश संरचना अलग्गै निर्माण गरिएको छ ।