एमसिसी विरुद्ध विप्लव समूहद्वारा आन्दोलनकाे घोषणा

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं,२६ भदाै । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले एमसिसी सम्झौता अघि नबढाउन ध्यानाकर्षण गराउने उदेश्यले पहिलो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिए । उनले आगामी भाद्र २८ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने जानकारी दिए । एकहप्ते आन्दोलनका कार्यक्रमपछि पनि एमसीसी अघि बढाए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।

विश्वकर्माले एमसीसी अघि बढाउने मुर्खता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । यसअघिको एमाले नेतृत्वको बहुमतको सरकार भएपनि जनताको विरोध हुने भएकाले एमसीसीलाई ओलीले अघि नबढाएको हुनसक्ने उनले बताए । उनले एमसीसीलाई गठबन्धन सरकारले सदनमा लगे इतिहासकै ठूलो अपराध हुने जिकिर गरे ।

बिश्वकर्माले युरोपियन अमेरिकन युनियन लगाएत बिदेशी शक्तिसंगको सम्झौतामा गठबन्धन सरकार बनेको आरोप लगाउनुभयो । उनले राजनीतिक दलका नेताहरूका कारण देश सङ्कटको भुमरीमा फसेकाले नै आफुहरु बाहिर आउनुपरेको धारणा राखे ।

फरक प्रसंगमा उनले संसदीय प्रणालीका बारेमा जनमत संग्रह गर्नुपर्ने र जनताको जस्तोसुकै फैसलालाई पनि स्वीकार गर्न आफुहरु तयार रहेको बताए ।विश्वकर्माले सरकारसंग भएको तीन बुँदे सम्झौताको पूर्ण पालना हुनुपर्ने भन्दै सहमति कार्यान्वयन नभए जनतामाझ जाने चेतावनी दिए ।