देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा ५ जनाकाे मृत्यु

NewsBankNepal Latest Update , News/समाचार , ३ वर्ष अगाडि

नवलपरासी,२९ भदाै । गैडाकोट नगरपालिका-१० स्मृती पुलस्थित सडकमा सुदूरपश्चिम प्रदेश-०२-००१ ख ११२३ नम्बरको बस र ना.६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई बस करिब १० फिट तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बसमा सवार र दुवै चालक सहित २४ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लगायतबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि मेडिकल कलेज भरतपुर चितवन पठाएको छ ।

यस्तै, भरतपुर महानगरपालिका-३ लाईन्स चोकस्थित सडकमा ना.८ ख ६२४९ नम्बरको ट्रकले ना.३९ प २०९३ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक रत्ननगर नगरपालिका-१० बस्ने ३१ वर्षीय यदुराज पौडेलको मृत्यु भएको छ ।

दुर्घटनामा  गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 उता, कञ्चनपुरकाे, बेदकोट नगरपालिका-८ कलकत्तास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१ ००९ प ५०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बेलैरी नगरपालिका-१० बस्ने २६ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।     दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।