अवरोधकाबीच प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत

NewsBankNepal Banner Headline with Image , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं,२९ भदाै । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले अवरोधकाबीच प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । उक्त प्रस्तावलाई स्वीकृत गर्नुपूर्व बैठकमा विधेयकउपर सैद्धान्तिक छलफल भई उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।

सैद्धान्तिक छलफलमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए । बैठक चलिरहँदा एमालेका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए । एमालेले आफूले कारवाही गरेका १४ सांसदलाई संसद् प्रवेश निषेध गर्नुपर्ने माग राखी संसद्को चालू अधिवेशन प्रारम्भ भएदेखि नै अवरोध गर्दै आएको छ । प्रतिनिधिसभाको नवौँ अधिवेशन यही भदौ २३ देखि शुरु भएको थियो ।

संसद्को गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले प्रतिनिधिसभामा सहभागी राजनीतिक दल सम्मिलित सर्वदलीय बैठक सोमबार आयोजना गरेका थिए । सो बैठकमा एमाले उपस्थित नभएपछि बैठक विनानिष्कर्ष सकिएको थियो ।