काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले अमर शहीदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको बताएका छन् । सातौँ संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले संविधानको सफल कार्यान्वयनबाट मुलुकको समृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने सरकारको लक्ष्य हो भने ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, “नागरिक स्वतन्त्रता र मुलुकको समृद्धिको लागि दशकौँदेखि भएका जनआन्दोलन, सशस्त्र विद्रोह, मधेश आन्दोलनसमेतको माध्यमबाट भएको यो अभूतपूर्व राजनीतिक परिवर्तन सम्भव भएको हो । सङ्घीय, लोकतान्त्रिक गणतन्त्र, समावेशीता, मानव अधिकार एवं वैयक्तिक स्वतन्त्रताजस्ता उपलब्धिलाई संस्थागत गर्न जननिर्वाचित प्रतिनिधिबाट गठित संविधानसभाबाट निर्माण भएको नेपालको संविधान सातौँ वर्षमा प्रवेश गरेको यस राष्ट्रिय दिवसमा उपस्थित हुँदा मलाई गौरबबोध भएको छ ।”
उहाँले मुलुकको अग्रगामी परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवर्तनका लागि भएका सङ्घर्षमा शारीरिक, भौतिक, आर्थिक, मनोवैज्ञानिक क्षति बेहोर्नुभएका एवं बेपत्ता नागरिकलाई उच्च सम्मानपूर्वक स्मरण गर्नभुएको छ । साथै उहाँले सातदशक लामो राजनीतिक आन्दोलनका क्रममा परिवर्तनका लागि अग्रपङ्क्तिमा रही नेतृत्व गर्नुहुने अग्रजहरु तथा समस्त परिवर्तनका पक्षधर नेपाली नागरिकप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
“विधिको शासनको अपरिहार्य कडी संवैधानिक सर्वोच्चता र त्यसलाई संस्थागत गर्ने संविधान हो । त्यसैले संविधान दिवस एक विशिष्ट राष्ट्रिय खुसीको दिन हो । यस अवसरमा पनि हामी खुला मनले अधिक सहभागिताबाट राष्ट्रिय उत्सव मनाउन सकेका छैनौँ, किनकी कोभिड–१९ को महामारीबाट हामी सबै जोगिँदै यस्ता उत्सव मनाउनुपर्ने बाध्यता रहेको छ”, उहाँले उल्लेख गरे ।
शताब्दीकै कहालीलाग्दो कोभिड–१९ को विश्वव्यापी महामारीबाट मानवजाति आक्रान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसबाट नेपाली नागरिकलाई बचाउन सरकार पूर्णरुपले प्रतिबद्ध एवं क्रियाशील रहेको बताए । प्रधानमन्त्री देउवाले वर्तमान सरकारको पहिलो प्राथमिकतामा कोभिड–१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्नुभएको बताए । उनले भने, “यही असोज महिनाभित्र एक तिहाइ र यस वर्षभित्र खोप लगाउनयोग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गरिनेछ ।
अग्रस्थानमा खटिने राष्ट्रसेवकलगायत सबैलाई व्यक्तिगत स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने र स्वास्थ्य सचेतना बढाउने कार्यक्रम नेपाल सरकारले सञ्चालन गरिरहेको छ ।” नागरिकको लामो सङ्घर्ष र बलिदानीबाट संविधानसभाबाट निर्मित संविधानको रक्षा र यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तनप्रतिको नागरिकको चाहना संविधानबाट संस्थागत भएको बताए ।
यसको सफल कार्यान्वयनबाट आर्थिक, सामाजिक रुपान्तरण गरी समृद्धिको मार्गतर्फ अघि बढ्नुपर्ने उनकाे भनाइ थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यम सङ्घीय, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संविधानको मूल उद्देश्य भएको बताउँदै उहाँले यस विषयमा निरन्तर इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

