मानपदवी वितरणकाे संस्कार,जाे सरकारमा उसैकालाई तक्मा!

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । सरकारले यसपटक पनि घोषणा गरेको मानपदवी र तक्मा वितरण पनि विवाद मुक्त हुन सकेन ।संविधान दिवसको अवसर पारेर ९०५ जनालाई विभूषित गर्ने घोषणा गरेकोमा पाँच जनाले अस्वीकार गरेका छन्।

विभूषण वितरणको प्रक्रिया र पारदर्शितामाथि गम्भीर प्रश्न उठाउँदै सरकारले घोषणा गरेको विभूषण र पदक नलिने घोषणा गरेका हुन् ।२०६७ सालदेखि २०७५ सालसम्म विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका १९२ जना व्यक्तिले पदक नलिएको सूची गृहमन्त्रालयको वेवसाइटमा उल्लेख छ ।योगदानका आधारमा भन्दा पनि जुन दलको सरकार बन्छ उही निकटहरूले तक्मा पाउने गरेकाे हुँदा यसकाे गरीमा घट्दै गएकाे छ ।

यो पटक सरकारले घोषणा गरेको मानपदवी र तक्मा पाउनेमा सत्तामा रहेको नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र हाबी भएका छन्। गत वर्ष एमाले सत्तामा हुँदा तक्मा पाउनेमा एमाले निकटहरूको बाहुल्यता देखियो।

यो वर्ष पनि बहिष्कार गर्ने क्रम रोकिएन। ईकागजका प्रधान सम्पादक हरी बहादुर थापा,नेपाल रिपब्लिक मिडियामा कार्यरत चर्चित कार्टुन रविन सायमी,नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटा,नेपालसमयका प्रधान सम्पादक नारायण अमृत र चिकित्सक अशेष ढुङ्गानाले ले दलिए भागबन्डाको आधारमा सरकारले पदक वितरण गरेको भन्दै अस्वीकार गरेका छन्।

यस अगाडि पत्रकार युवराज घिमिरे, कनकमणि दीक्षित, रङ्गकर्मी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पदक अस्वीकार गरेका थिए।