काठमाण्डौ ७ असोज । कोरोना महामारीले आक्रान्त बनाईरहेकै समयमा भारत र नेपालमा अर्को त्रास थपिएको छ त्यो हो निपाह भाइरस । यसको ‘छिमेकी मुलुक भारतमा संक्रमण पुष्टि भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनले महामारी ल्याउन सक्ने १० प्राणघातक रोगभित्र राखेको निपाहा भाइरसको नेपालमा उच्च जोखिम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताएका छन ।
भारतबाट संक्रमित चमेरो फलफूल खान नेपालको तराई क्षेत्रमा आउन सक्छ’, डा.अधिकारीले भने । फलफूल खाने फ्रुट ब्याट प्रजातिको संक्रमित चमेरोले यो भाइरस सार्ने गरेको पाइएको छ । डा. अधिकारीका अनुसार निपाहबाट हुने मृत्युदर कोभिड–१९ को तुलनामा उच्च छ । जसको मृत्युदर ४५ देखि ७५ प्रतिशत छ ।
भारतको दक्षिणी राज्य केरलामा एक नर्ससहित १२ जनाको ज्यान गइसकेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन ।
उक्त चमेरो नेपालमा पनि पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ‘काठमाडौं उपत्यकालगायत अन्य स्थानमा संक्रमण गराउन सक्ने चमेरो रहेको पुष्टि भएको छ यधापी हालसम्म संक्रमण गराइसकेको पुष्टि भएको छैन’। डा.अधिकारीले भने, ‘यो भाइरस जनावरबाट जनावर, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा पनि सर्छ ।’
त्रिभुवन विश्वविद्यालय, पोखरा तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अनुसन्धानकर्ताले संयुक्त रूपमा गरेको अध्ययनले उक्त चमेरो नेपालमा रहेको देखाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु क्लिनिकल रिसर्च युनिट संयोजक डा। शेरबहादुर पुनले बताए । उनले भने, ‘कोरोनाको चिन्ता नसकिँदै निपाह भाइरसको जोखिम छ । सँुगुरलगायत पशु पाल्ने किसान बढी सजग हुनुपर्छ।’ यसले दक्षिण एसियाली मुलुकमध्ये भारत र बंगलादेशमा हरेक वर्ष सताउने गरेको छ । छिमेकमा देखापर्ने स्वास्थ्य समस्या केही महिनापछि नेपाल भित्रिने गरेको छ । मन्त्रालयले संक्रमणको लक्षण देखिए उपचार गराउन आग्रह गरेको छ।
कसरी सर्छ ?
संक्रमित चमेरोबाट सुँगुर, गाई, गोरुजस्ता जनावर हुँदै मानिसमा भाइरस सर्ने जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । त्यस्तै संक्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आए पनि संक्रमणको जोखिम हुन्छ । भाइरस लागेको चारदेखि १४ दिनभित्र लक्षण देखापर्छन ।
लक्षणहरु ः
ज्वरो, आउने, मांशपेशी एवं टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी हुने, स्वासप्रश्वासमा समस्या, स्मरण शक्तिमा कमी आउने र मस्तिष्क सुनिनेलगायत समस्या देखिने जनाइएको छ । मलेसिया र सिंगापुरमा सन १९९९ मा यो भाइरसको पहिचान गरिएको थियो । मलेसियामा सुँगुर फार्मबाट यो भाइरस पत्ता लागेको हो ।
डा. पुनका अनुसार यो भाइरस दूषित खाद्यपदार्थ र मानिसबाट मानिसमा सिधै पनि सर्न सक्छ । ‘भाइरसबाट संक्रमित सुँगुर वा चमेरोको थुक, पिसाबबाट पनि मानिसमा सर्न सक्छ’, उनले भने । यसविरुद्ध जनचेतना फैलाउँदै निर्देशिकासहित उपचार व्यवस्थापनको पूर्वतयारी गर्नुपर्ने उनको सुझाव छ।
संक्रमित पशुको संसर्गमा आएका फलफूल सेवन गरे पनि संक्रमणको जोखिम हुने विज्ञ बताउँछन । ‘पशुपन्छिले जुठो हालेका वा कोपरेका फलफूल नखाऊँ । तरकारी, फलफूल राम्रोसँग सफा गरेर मात्र खानुपर्छ’, डा. पौडेलले भने ।
कसरी जोगिने ?
–सरसफाइमा ध्यान दिने
–फलफूल राम्ररी पखालेर खाने
–तरकारी पूरै पकाउने
–गोठ र फार्म सफा राख्ने
–मासु काट्दा र पकाउँदा पञ्जा र मास्क लगाउने
–पानी उमालेर मात्रै पिउने
–साबुनपानीले बेलाबेला हात धुने
–भीडभाडमा जाँदा मास्क प्रयोग गर्ने ।