त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता

NewsBankNepal Latest Update , News/समाचार , ४ वर्ष अगाडि

काठमाण्डौबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खसेको छ । गएराति पौने २ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ मा रहेको नाग्दी खोलाबाट ग २ च ४९१८ नम्बरको कार त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा रहेका पोखरा महानगरपालिका १७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते हुनु भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । कारमा रहेका अरु तीन जना भने बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका-१७ का ५५ वर्षका प्रेमबहादुर भुजेल, ५५ वर्षका लेखबहादुर भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएकाहरुको बिहानैदेखि खोजी भइरहेको छ ।