कुल आचार्यले गरे एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , प्रवास , ३ वर्ष अगाडि

काठमाडौं,१० असाेज । कुल आचार्यले गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो वर्ष पनि उनले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

विगत केही समयदेखि संस्थाको गरिमा खस्किएको भन्दै उनले आफू अध्यक्ष भए गरिमा बढाउने बताए । साथै उनले केही जिम्मेवार व्यक्तिले संस्थालाई व्यक्तिगत स्वार्थ अनुरुप प्रयोग गरेको आरोप लगाए । ‘सदस्यता र डेलिगेटसम्बन्धी विवादका कारण निर्धारित समयमा महाधिवेशन नहुने हो कि भन्ने आशंका बढेको भए पनि समाधान खोजेर निर्धारित मितिमै स्वतन्त्र र धाँधलीरहित निर्वाचन गर्नेमा जोड दिए ।

पर्वतको जलजला गाउँपालिका-७ धाइरिङमा जन्मिएर हाल बेलायतमा व्यवसाय गरेका आचार्यले यसअघि एनआरएनएका विभिन्न पदमा रहेर काम गरेका छन् । सन् २००३ देखि गैरआवासीय नेपाली संघको अभियानमा आवद्ध आचार्य गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए ।

त्यसपछि सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, युरोप संयोजक हुँदै सन् २०१७-१९ मा संघको उपाध्यक्ष बनेका थिए ।

प्रवासीलाई जन्मथलो र गाउँसँग जोड्ने, गैरआवासीय नागरिकताको व्यवस्था, दोहोरो श्रम स्वीकृति, एनआरएनएको लगानीलाई पारदर्शी र मुनाफामूलक बनाउने मुद्दालाई अघि सारेको आचार्यको भनाइ छ ।

संविधानले एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने भावना स्वीकार गरे पनि नागरिकतासम्बन्धी ऐन नबन्दा अधिकार उपयोग गर्न नपाएको गुनासो गरे ।
साथै आर्थिक अनियमिताबारे छानविन गरी दोषीलाई कारबाही गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र अन्तराष्ट्रिय समन्वय परिषदसँग माग समेत गरेका छन् ।

उनले संघको पञ्जिकृत सदस्यहरुको संख्या ५ लाख पुर्‍याउने आफ्नो लक्ष्य रहेको बताए ।