काठमाडाैं,१३ असाेज । उपत्यकामा करिब ५० प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रामा खोप लगाएका छन ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसङ्ख्याले पूर्ण मात्राको खोप लगाइएको जनाएको हो ।
काठमाडौँ उपत्यकाका ३२ लाख ४७ लाख ५५८ जनसङ्ख्यामध्ये १८ वर्ष माथिका २१ लाख २९ हजार ७७३ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
त्यस्तै ललितपुरमा तीन लाख ८२ हजार ८६० जना र भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना खोप लगाउने लक्षित जनसङ्ख्या हो । दसैँसम्ममा उपत्यकाको सबै लक्षित वर्गको कम्तीमा ५० प्रतिशतले खोप लगाइसक्ने देखिएको छ ।
सरकारले यही असोज मसान्तभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । यस्तै पुसमा दुई तिहाइ र चैत मसान्तसम्म सबै लक्षित नागरिकलाई खोप लगाउने सरकारको तयारी रहेको छ ।
कोरोना भाइरसका सक्रिय सङ्क्रमितमा ५० प्रतिशतभन्दा बढी कमी आएको देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई खोप लगाउने कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन् ।