काठमाडाैं,१७ असाेज ।सरकार बनेकाे तीन महिनासम्म पनि मन्त्रिमण्डलले पूर्णता पाउन नसकेपछि सहमति जुटाउन गठबन्धन दलकाे कार्यदल छलफलमा जुटेकाे छ। शीर्ष नेता रहेको गठबन्धन बैठकमा मन्त्रिपरिषद् विस्तारको निधो गर्नअघि कार्यदललाई मन्त्रालय भागवण्डा टुंग्याउने कार्यादेश दिएपछि नेताहरु छलफलमा जुटेका हुन् ।
कार्यदलको बैठक बालुवाटारमा जारी छ ।कार्यदलले सम्भवत आजै मन्त्रालयको भागवण्डा टुंग्याएर शीर्ष नेताहरुलाई ब्रिफिङ गर्ने र सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने कोसिस भइरहेको स्राेतले जनाएकाे छ ।
गत बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरे पनि नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाल विरामी भएपछि बैठक नै बसेको थिएन ।काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वका कार्यदलको बैठकमा माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सहभागी छन् ।
गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५-५ मन्त्रालय राख्ने सहमति भइसकेको छ । तर, कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति हुन सकेको छैन ।राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको छ ।

