दसैंको मुखमा दुर्गमका दुई डिपोमा चामल रित्तियाे

NewsBankNepal Latest Update , News/समाचार , ४ वर्ष अगाडि

गाेरखा,२२ असाेज । दसैंको मुखमा दुर्गमका दुई डिपोमा चामल रित्तिएका छन् । विगतमा टेन्डर प्रक्रिया सकेर असोज पहिलो साता चामल ढुवानी हुने उत्तरी गोरखामा यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानीका लागि टेन्डर प्रक्रियासमेत टुङयाउन सकेको छैन ।

सिर्दिबास डिपोमा ३५ सय र माछाखोला डिपोमा ५ सय क्विन्टल चामल पुर्‍याउन कोटा स्वीकृत भएको छ । तर ढुवानीको टेन्डर प्रक्रिया नटुङ्गिँदा चालु आर्थिक वर्षको ३ महिनासम्म चामल पुगेको छैन । माछाखोला डिपोमा साउन अन्तिम साताबाट चामल रित्तिएको छ । सिर्दिवास डिपोमा गत वर्ष ढुवानी भएको मौज्दात र पैदलमार्ग अवरुद्धपछि हेलिकप्टरबाट ढुवानी भएको चामल पनि बिक्री भइसकेको छ ।

दसैंलाई लक्ष्य गरेर सिर्दिबास डिपोबाट ४ सय १६ क्विन्टल चामल बिक्री भएको सदरमुकामस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखाका सूचना अधिकारी शिव सुनारले जानकारी दिए । अब सिर्दिबास डिपोमा भैपरी आउने विपत्ति र छुटपुटका लागि दुई सय ८२ क्विन्टल चामल मात्र स्टक रहेको उनले बताए । चालु आर्थिक वर्षमा ढुवानी ढिला हुँदा सिर्दिबास डिपोमा पर्याप्त चामल नरहेको उनको भनाइ छ । साभार कान्तिपुर